काठमाडौं, असोज २० । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ४ गते बिहान १०ः२६ बजे टीकाको उत्तम साइत रहेको जनाएको हो ।
विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ । समितिले टीका लगाउँदा लगाइ माग्ने पश्चिम दिशा फर्किनुपर्ने पनि जनाइएको छ ।
यस्तै असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको छ ।
समितिका अनुसार असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने समितिको भनाई छ ।
यस्तै असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती परेको छ । सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ भने कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ । देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ ।
टीका लगाउने शुभसाइत बिहान १०ः२६ बजे रहेको छ । टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्ने र टीका लगाइमाग्ने व्यक्ति पनि पश्चिम फर्किनुपर्ने जनाइएको छ ।
सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे रहेको छ । स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे तथा खड्गयात्रा पनि सोही दिन हुनेछ । कार्तिक ८ गते आइतबार कोजाग्रत पूजा हुने समितिले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्