जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार २०:५९

रास्वपा सांसद खत्रीको कार्यक्रम बहिष्कार गर्न पत्रकारलाई आह्वान


काठमाडौं, असोज १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले आयोजना गर्न लागेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बहिष्कार गर्न पत्रकारलाई आह्वान गरिएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले सांसद खत्रीले संसदमा पत्रकार र प्रेस जगतप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनको कार्यक्रममा सहभागी नहुन पत्रकारलाई आह्वान गर्नुभएको हो। महासंघका पदाधिकारी तथा सदस्यहरूबीच यस विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खत्रीले प्रेस काउन्सिल नेपालका अध्यक्षलाई केही पत्रकार नेताले ‘झ्यालबाट फ्याँक्ने’ भन्दै धम्की दिएको दाबी गर्दै त्यस्तो भाषा प्रयोग गर्नेहरू पत्रकार हुन् कि गुण्डा भन्दै प्रश्न गर्नुभएको थियो। उहाँले पत्रकारका नाममा धम्की दिनेहरूलाई ‘असनका साँढे’ बन्ने छुट नभएको बताउनुभएको थियो।

खत्रीले सरकारी विज्ञापन वितरणमा हुने अनियमितता रोक्नुपर्ने तथा सञ्चारमाध्यम सञ्चालनका लागि सरकारी विज्ञापनमा मात्र निर्भर हुन नहुने धारणा पनि राख्नुभएको थियो। उहाँले पत्रकार महासंघजस्तो स्वतन्त्र र निष्पक्ष संस्थाको नेतृत्वले धम्कीपूर्ण भाषा प्रयोग गर्नु आपत्तिजनक भएको बताउनुभएको थियो।

यसैबीच, खत्रीले शुक्रबार बिहान भक्तपुरको सूर्यविनायकस्थित क्लब बागमतीमा पत्रकार सम्मेलन गर्ने तयारी गर्नुभएको थियो। तर पत्रकारहरूले बहिष्कार गर्ने जानकारी पाएपछि कार्यक्रम स्थगित भएको जानकारी आफूले पाएको सुवेदीले बताउनुभयो।

नेपाल पत्रकार महासंघले पनि सांसद खत्रीलाई अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना गर्न आग्रह गरेको छ। महासंघले प्रेस तथा पत्रकारविरुद्ध अपमानजनक वा धम्कीपूर्ण अभिव्यक्ति स्वीकार्य नहुने जनाएको छ।