जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ०७:३९

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित


काठमाडौं, असोज २१ । फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीको आन्दोलन चर्किँदै गएपछि सयौँ विद्यालय प्रभावित भएका छन्।

विद्यालयका लागि थप स्रोतसाधनको माग गर्दै किशोर–किशोरीले सुरु गरेको राष्ट्रव्यापी आन्दोलनमा अभिभावक, विद्यार्थी युनियन तथा मजदुर संगठनसमेत जोडिएका छन्। आन्दोलनको समर्थनमा मंगलबार वयस्क प्रदर्शनकारीले विभिन्न स्थानमा र्‍याली निकालेका थिए भने विद्यार्थीहरूले पुनः विद्यालयमा अवरोध सिर्जना गरेका छन्।

पेरिसको २०औँ जिल्लामा रहेको ‘हेलेन बुचर’ उच्च माध्यमिक विद्यालयको प्रवेशद्वारमा प्रदर्शनकारीले फोहोरका भाँडा र साइकल तेर्स्याएर अस्थायी अवरोध गरेका थिए।

विद्यालयमा तोडफोडका घटना बढ्नुका साथै कर्मचारी, विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीहरूले गएको हप्तादेखि केही विद्यालय बन्द गर्न थालेका छन्।

प्रहरीको दङ्गा नियन्त्रणमा प्रयोग हुने उपकरणका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएको भन्दै आलोचना भइरहेको छ। यद्यपि, गृहमन्त्री लरेन्ट नुनेजले सरकारको कडा प्रतिक्रियाको बचाउ गर्नुभएको छ।

नुनेजका अनुसार अहिलेसम्म प्रहरीले ६ हजारभन्दा बढीलाई पक्राउ गरेको छ भने ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन्।

राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकारमाथि समेत दबाब बढाएको आन्दोलनमा मजदुर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी सहभागी भएका छन्।

किशोर–किशोरीमाथि व्यापक गिरफ्तारी, अश्रुग्यास तथा दङ्गा नियन्त्रणका उपकरण प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ। यसले प्रदर्शनकारी युवासँगै केही अभिभावक र शिक्षकमा समेत असन्तुष्टि बढाएको बताइएको छ।

विद्यालयमा अवरोध र प्रदर्शन सेप्टेम्बरको मध्यतिर पेरिस क्षेत्रबाट सुरु भएको थियो। त्यसपछि आन्दोलन फ्रान्सका अन्य सहर तथा नगरमा समेत फैलिएको हो।