जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ०७:५७

नाइजेरियामा विमान दुर्घटना, २५ जनाको मृत्यु


काठमाडौं, असोज २१ । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा विमानमा सवार २५ जनाको मृत्यु भएको छ।

वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० जना यात्रु र चालक दलका पाँच सदस्य सवार थिए। विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा रहेको थियो।

विमान उडेको केही समयपछि राडारबाट सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा विमानको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै फेला परेको अधिकारीहरूले बताएका छन्।

नाइजेरियाका नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना सवार रहेको जानकारी दिएका थिए। तर, पछि वायुसेनाले यात्रु र चालक दलसहित २५ जना मात्रै विमानमा रहेको पुष्टि गरेको थियो।

नाइजेरियाली वायुसेनाले दुर्घटनाको कारण र घटनाको परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएको छ। दुर्घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ।