जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार ०८:१३

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै ककरोच जनता पार्टीद्वारा दिल्ली मार्च आह्वान


काठमाडौं, असोज १८ । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा माग गर्दै अक्टोबर १० मा नयाँ दिल्लीमा मार्च आयोजना गर्ने घोषणा गरेको छ।

प्रहरीले भेला हुन अनुमति नदिए पनि मुम्बईको शिवाजी पार्कमा हजारौँ प्रदर्शनकारी सहभागी भएको विरोध प्रदर्शनपछि सीजेपीले दिल्ली मार्चको आह्वान गरेको हो।

सीजेपीका संस्थापक तथा संयोजक अभिजीत दिपकेले वक्तव्य जारी गर्दै ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर १० मा भारतभरबाट ‘ककरोच’ नयाँ दिल्ली पुगेर जन्तर–मन्तरमा प्रदर्शन गर्ने बताउनुभएको छ। दिल्ली प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोजे जहाँ रोक्छ, त्यही स्थानलाई जन्तर–मन्तर बनाएर प्रदर्शन गर्ने चेतावनीसमेत उहाँले दिनुभएको छ।

उहाँले प्रदर्शन शान्तिपूर्ण हुने र महात्मा गान्धीले देखाउनुभएको अहिंसाको बाटोमा अघि बढ्ने दाबी गर्दै निष्पक्ष तथा स्वतन्त्र निर्वाचनको रक्षा गर्न मार्चमा सहभागी हुन आह्वान गर्नुभएको छ। उहाँले यसलाई ‘लोकतन्त्र बचाउने लडाइँ’ को संज्ञा दिनुभएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अक्टोबर २ मा दिल्लीको जन्तर–मन्तर तथा आसपासका क्षेत्रमा भएको प्रदर्शनका क्रममा पूर्वमुख्यमन्त्री आतिशीसहित ७०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको र पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने गरी भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत प्रतिबन्ध लगाइएको थियो।

अक्टोबर २ मा महात्मा गान्धीको जन्मजयन्तीसमेत परेको थियो। सोही दिनको प्रदर्शनका क्रममा विपक्षी दलका केही नेता तथा विद्यार्थी नेतासमेत हिरासतमा लिइएको बताइएको छ।

यसअघि मुम्बईको शिवाजी पार्कमा सीजेपीको नेतृत्वमा भएको प्रदर्शनमा चलचित्र कलाकार तथा संगीतकारसहित ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए। दिल्लीमा जस्तो ठूलो प्रहरी कारबाही भने त्यहाँ नभएको बताइएको छ।

मे महिनामा अनलाइन व्यङ्ग्य अभियानका रूपमा सुरु भएको उक्त आन्दोलन पछिल्ला महिनामा सडक प्रदर्शनमा परिणत भएको हो। जुलाई २० मा दिल्ली प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठीचार्ज गरेको थियो। त्यसपछि जुलाईको अन्त्यतिर भारतका तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको बताइएको छ।