जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार २१:२९

भारतको जन्तरमन्तरबाट ७०० भन्दा बढी प्रदर्शनकारी पक्राउ


काठमाडौं, असोज १६ । भारतको राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा उनीहरूलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रदर्शनमा विपक्षी दलका नेता, विद्यार्थी तथा अन्य समूहका प्रदर्शनकारी सहभागी थिए।

प्रदर्शनकारीहरूले निर्वाचन आयोगको कार्यशैली तथा मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले योग्य मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्।

प्रहरीले आम आदमी पार्टीका नेतासहित विभिन्न राजनीतिक दल तथा विद्यार्थी समूहका प्रदर्शनकारीलाई समेत नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ।