काठमाडौं, असोज १६ । इजिप्टका अधिकारीले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन्।
अधिकारीहरूले विदेशी कोष लिएर अनलाइन माध्यमका लागि झुटा समाचार उत्पादन गरेको आरोप पत्रकारमाथि लगाएका छन्। तर मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले आरोप अस्वीकार गर्दै पक्राउ परेका पत्रकारको अवस्था र स्थानबारे परिवारलाई समेत जानकारी नदिइएको बताएका छन्।
इजिप्टसहित विभिन्न अरब मुलुकमा खोजमूलक पत्रकारिता गर्दै आएको मात्सादासको वेबसाइट इजिप्टमा अवरुद्ध छ। तर फेसबुकमा यसको १० लाखभन्दा बढी फलोअर रहेको बताइएको छ।
इजिप्टको गृह मन्त्रालयले मात्सादासलाई मन्सुरले भारतबाट सञ्चालन गरेको अनुमतिविहीन सञ्चारमाध्यमका रूपमा उल्लेख गर्दै पक्राउ परेका पत्रकारहरू मुस्लिम ब्रदरहुडको ‘मिडिया कमिटी’का सदस्य रहेको आरोप लगाएको छ।
मन्सुरका अनुसार पत्रकारहरू सोमबार र मंगलबार विभिन्न स्थानबाट पक्राउ परेका थिए। उनीहरूका मोबाइल फोन र कम्प्युटरसमेत जफत गरिएको छ।
व्यक्तिगत अधिकारका लागि इजिप्टियन इनिसिएटिभले पक्राउ परेका पत्रकारलाई परिवार वा कानूनी टोलीसँग सम्पर्क गर्न नदिइएको र उनीहरू कहाँ राखिएको भन्ने स्पष्ट नभएको जनाएको छ।
ह्युमन राइट्स वाच र रिपोर्टर्स विदाउट बोर्डर्ससहित ८० भन्दा बढी अधिकार समूह तथा नागरिक समाज संस्थाले पत्रकारहरूलाई रिहा गर्न माग गरेका छन्। उनीहरूले मात्सादासले सार्वजनिक चासोका विषयमा विश्वसनीय समाचार दिँदै आएको बताएका छन्।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले अपदस्थ गरेपछि इजिप्टले मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी संगठन घोषणा गरेको थियो। त्यसयता पत्रकार तथा सरकारका आलोचकलाई उक्त समूहसँग सम्बन्धित रहेको वा झुटा समाचार फैलाएको आरोपमा पक्राउ गर्ने घटना हुँदै आएका छन्।












प्रतिक्रिया दिनुहोस्