काठमाडौं, असोज २० । विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाब बढिरहेका बेला साउदी अरबको प्रमुख तेल कम्पनी आराम्कोले तेलको मौज्दात न्यून रहेको चेतावनी दिएको छ।
आराम्कोका प्रमुख कार्यकारी अधिकृत अमिन नासेरले बेलायतमा आयोजित ‘इनर्जी इन्टेलिजेन्स फोरम’मा विश्वव्यापी तेल आपूर्ति प्रणाली दबाबमा रहेको बताउनुभयो।
उहाँले कुल मौज्दातको तथ्याङ्कलाई मात्र आधार मान्न नहुने भन्दै वास्तविक रूपमा प्रयोग गर्न मिल्ने तेलको मौज्दात १० प्रतिशतभन्दा कम रहेको उल्लेख गर्नुभयो। आपत्कालीन मौज्दातले आगामी जाडोयाम पार गर्न केही सहयोग गर्न सक्ने भए पनि दीर्घकालीन आपूर्ति समस्या समाधान गर्न नसक्ने उहाँको चेतावनी छ।
ऊर्जा क्षेत्रका प्रतिनिधिहरू सहभागी दुईदिने सम्मेलनमा तेल आपूर्तिका वैकल्पिक स्रोत सीमित रहेकाले विश्वव्यापी आपूर्ति प्रणालीको लचिलोपन र सुरक्षा कमजोर रहेको विषयमा छलफल भएको छ।
यसअघि अमेरिका–इरान द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको चिन्ता कम गर्न जी–७ राष्ट्रहरूले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) सँगको समन्वयमा आफ्नो मौज्दातबाट १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए।
जी–७ को उक्त निर्णयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घलाई आफ्नो रणनीतिक डिजेल मौज्दात प्रयोग गर्न वा अमेरिकी डिजेल निर्यात प्रतिबन्धको सामना गर्न दबाब दिनुभएको थियो।












प्रतिक्रिया दिनुहोस्