दाङ, असोज २० । दाङको देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २-०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लु २-०२-००१ ख ०१११ नम्बरको बस लमही नगरपालिका–३ मजगाउँमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार दुर्घटनामा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमैमगरको मृत्यु भएको छ।
पूर्वतर्फ गइरहेको ट्रकलाई उछिनेर अटो अगाडि बढ्न खोज्दा तीव्र गतिमा लमहीतर्फ आउँदै गरेको बससँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्लीमगर, सोही ठाउँकी सङ्गिता सोमैमगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्।
घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।












प्रतिक्रिया दिनुहोस्