पर्वत, असोज २० । कालीगण्डकी नदीमा आएको बाढीले घरबारसँगै कापीकिताब, विद्यालय पोसाक र झोला बगाएपछि पर्वतका बाढीपीडित बालबालिका पढाइबाट प्रभावित भएका छन्। राहतका रूपमा खाद्यान्न र पाल पुगे पनि उनीहरूका शैक्षिक सामग्रीको अभावप्रति भने पर्याप्त ध्यान पुग्न सकेको छैन।
जलजला गाउँपालिका–७ फर्सेस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत दिवश केसीको घरगोठ बाढीले बगाउँदा उनका कापीकिताब, पोसाक र झोला पनि बगे। परीक्षा नजिकिँदै गर्दा किताब नभएपछि पढाइ कसरी अघि बढाउने भन्ने चिन्ता उनलाई छ।
बाढीपछि विस्थापित लस्तीवासी करिब १० दिनदेखि खेतमा प्लास्टिकका टहरामा वा आफन्तको घरमा बसिरहेका छन्। जिल्ला तथा प्रदेशबाट पुगेको राहतले चामल, तरकारी, नुन, तेललगायत खाद्यान्न उपलब्ध भए पनि बालबालिकाका लागि आवश्यक कापीकिताब, पोसाक र शैक्षिक सामग्री भने पुगेका छैनन्।
कालीगण्डकी बाढीले शिव माविमा अध्ययनरत करिब ४० विद्यार्थीका कापीकलम, किताब तथा विद्यालय पोसाक बगाएको विद्यालयले जनाएको छ। बाढीका कारण विद्यालयसमेत सञ्चालनमा आउन सकेको छैन। अभिभावकसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने तयारी भए पनि धेरै विद्यार्थी शैक्षिक सामग्री र पोसाकविहीन अवस्थामा कक्षामा आउनुपर्ने अवस्था छ।
बाढी प्रभावित बालबालिका भने राहत वितरणका लागि आउने समूहसँग किताब र शैक्षिक सामग्री पनि आएको छ कि भनेर खोज्ने गरेका छन्। केही विद्यार्थी दिउँसो बाढीले बगाएको घरको भग्नावशेष र बगरमा पुगेर बालुवाभित्र आफ्ना किताब खोज्ने गरेका छन्।
शिव माविका प्रधानाध्यापक अमृत सापकोटाले शैक्षिक वर्षको मध्य भाग भइसकेकाले किताबको अभावमा विद्यार्थीलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने समस्या परेको बताउनुभयो। विद्यार्थीका लागि एउटा पेन्सिल र इरेजरसमेत महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
बाढीले विद्यालयसम्म पुग्ने बाटोसमेत प्रभावित भएको छ। कालीगण्डकीको झोलुङ्गे पुल बगेपछि बागलुङको ढोडेनीबाट आउने विद्यार्थी र एक शिक्षकलाई विद्यालय पुग्न कठिन भएको छ। यसअघि पाँच मिनेटमा पुगिने विद्यालयमा अहिले करिब दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।
असोज ११ गते रातिको बाढीले फर्से क्षेत्रमा ७१ घरमा बालुवा र हिलो पसेर घरभित्रका खाद्यान्नलगायत सामग्री नष्ट गरेको छ। बचेखुचेका सामानसमेत हिलाम्मे भएका छन् भने भग्नावशेषमा पस्नसमेत जोखिम रहेको स्थानीयले बताएका छन्।
यसैबीच, जलजला गाउँपालिकाले बाढीबाट विस्थापित परिवारको लगत संकलन गरी पुनःस्थापनाका लागि जिल्ला प्रशासन र पालिकाबाट पहल भइरहेको जनाएको छ। गाउँपालिका अध्यक्ष राजु आचार्यले विस्थापितको पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।












प्रतिक्रिया दिनुहोस्