जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार ०८:१०

अमेरिकाद्वारा बेलायती सैन्य आधारबाट बमवर्षक विमान फिर्ता


काठमाडौं, असोज १९ । अमेरिकाले बेलायतस्थित फेयरफोर्ड सैन्य आधारमा रहेका आफ्ना सबै बमवर्षक विमान अमेरिकास्थित मुख्य सैन्य आधारमा फिर्ता पठाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार जारी गरेको वक्तव्यमा फेयरफोर्डमा रहेका सबै बमवर्षक विमान फिर्ता पठाइएको पुष्टि गर्नुभएको छ । यद्यपि, विमान फिर्ता बोलाउनुको स्पष्ट कारण भने अमेरिकाले सार्वजनिक गरेको छैन ।

गत सेप्टेम्बर २७ मा ग्लुस्टरशायरस्थित फेयरफोर्ड हवाई अड्डानजिकै तीनवटा शंकास्पद सवारीसाधन फेला परेपछि विकसित घटनाक्रमसँग अमेरिकी कदमलाई जोडेर हेरिएको छ ।

घटनापछि बेलायती प्रहरीले पाँच पुरुषलाई आतंकवादी गतिविधिसम्बन्धी शंकामा पक्राउ गरेको थियो । उनीहरूलाई पछि धरौटीमा रिहा गरिएको थियो ।

त्यसपछि बेलायती–इरानी नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई पनि लन्डनबाट पक्राउ गरिएको थियो । प्रति–आतंकवाद प्रहरीले उनलाई शनिबार धरौटीमा रिहा गरिएको जनाएको छ ।

अमेरिकाले बमवर्षक विमान फिर्ता गर्नु र उक्त घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेकोबारे भने औपचारिक रूपमा केही बताएको छैन ।