काठमाडौं, असोज १९ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि उम्मेदवारी दिने उम्मेदवारहरूका लागि मनोनयन दस्तुर (शुल्क) र सोसँग सम्बन्धित मापदण्डहरू सार्वजनिक गरेको छ। समितिले जारी गरेको सूचना अनुसार पदाधिकारी तथा सदस्य पदका लागि फरक-फरक दस्तुर तोकिएको छ।
निर्वाचन समितिका अनुसार केन्द्रीय सभापति पदका लागि मनोनयन दर्ता गराउन रु. ४०,००० दस्तुर निर्धारण गरिएको छ। त्यसैगरी केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि रु. ३०,०००, सहमहामन्त्रीका लागि रु. २०,००० र केन्द्रीय सदस्य पदका लागि रु. ११,००० मनोनयन दस्तुर तोकिएको छ।
उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकको संख्या पनि पद अनुसार फरक गरिएको छ। सभापति पदका उम्मेदवारका लागि १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ भने उपसभापति र महामन्त्रीका लागि ७-७ जना, सहमहामन्त्रीका लागि ५-५ जना र केन्द्रीय सदस्यका लागि ३ जना प्रस्तावक तथा ३ जना समर्थकको नामावली र दस्तखत अनिवार्य गरिएको छ। कुनै पनि व्यक्ति आफू उम्मेदवार बनेको पदमा अन्य उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाउने व्यवस्था समेत गरिएको छ।
उम्मेदवारहरूले मनोनयन दस्तुर नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको प्रभु बैंकमा रहेको खातामा जम्मा गरी सोको बैंक भौचर, निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस पत्र, फोटोसहितको परिचयपत्र र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रमाणपत्र दरखास्तसाथ बुझाउनुपर्नेछ। वारेस वा विदेशस्थित जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने प्रावधान राखिएको छ।
त्यस्तै, प्रचार-प्रसारका क्रममा टोपी, ज्याकेट, टि-सर्ट, गम्छा, लकेट वा अन्य प्रचार सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। उम्मेदवारले सामान्य परिचय खुल्ने पर्चा वा पम्प्लेट मात्र वितरण गर्न पाउनेछन् भने मतदान स्थल आसपासमा फ्लेक्स प्रिन्ट राख्न निषेध गर्दै निर्वाचन आचारसंहिताको अनिवार्य पालना गर्न निर्देशन दिइएको छ।













प्रतिक्रिया दिनुहोस्