काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २२ गते मतदान हुने भएको छ ।
निर्वाचन समितिका अनुसार असोज १९ गते साँझ ४ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन साँझ ४ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध तथा ६ः३० देखि ७ः३० बजेसम्म दाबी विरोधउपर जाँचबुझ गरिनेछ । मतदाताको अन्तिम नामावली साँझ ७ः३० बजे प्रकाशन गरिनेछ ।
त्यसैगरी असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिनेछ । सोही दिन दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारको दरखास्तउपर दाबी विरोध तथा ५ः३० देखि ६ः३० बजेसम्म दाबी विरोधउपर जाँचबुझ गरिनेछ । उम्मेदवारको दोस्रो नामावली साँझ ७ बजे प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उम्मेदवारको अन्तिम नामावली सोही दिन बिहान १० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारलाई प्रचार–प्रसारका लागि दिनभर समय प्रदान गरिनेछ ।
असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि विभिन्न स्थान तोकिएका छन् । बागमती प्रदेशका लागि राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा मतदान केन्द्र रहनेछ । कोशी, मधेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन, कमलादीमा मतदान केन्द्र रहनेछ ।
मतगणना मतदान समाप्त भएपछि गरिने तथा मतगणना सम्पन्न भएलगत्तै निर्वाचन परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सञ्चालन भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्