जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार ०८:१३

म्याग्दीका २६ पहिरो अध्ययन : बेनीको न्युरोडमा बढ्यो जोखिम


म्याग्दी, असोज १९ । मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आबद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेको हो ।

नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको टोलीले बेनी नगरपालिकाका २२ र रघुगङ्गा गाउँपालिकाका चार स्थानका पहिरोको अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

शनिबार र आइतबार स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा ६ जना भूगर्भविद्ले तीन समूह बनाएर पहिरोको अध्ययन गरेका थिए । अध्ययनका क्रममा पहिरोको अवस्था र माटोको बनोट आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरिएको भूगर्भविद् डा. चम्पकबाबु सिलवालले बताउनुभयो ।

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिका पहिरोग्रस्त क्षेत्रको समेत अध्ययन गरेको छ । प्रारम्भिक प्रतिवेदन आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरिएको थियो ।

न्युरोडमा विशेष सावधानी अपनाउन सुझाव

अध्ययन टोलीले बेनी बजारको न्युरोड क्षेत्रमा पहिरो थप सक्रिय हुनसक्ने भन्दै स्थानीयलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । पहिरोमाथिको जमिनसमेत चर्किएर बग्ने अवस्थामा रहेकाले तत्काल र दीर्घकालीन उपाय अपनाउनुपर्ने टोलीका संयोजक खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार पहिरोको नियमित अनुगमन र आकारको मापन गरी अभिलेख राख्ने, भूमिगत पानीको सुरक्षित व्यवस्थापन गर्ने तथा चर्किएको जमिनमा पानी पस्न नदिने जस्ता तत्कालीन उपाय आवश्यक छन् । दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि गर्नुपर्ने काम समेटिएको विस्तृत प्रतिवेदनसमेत तयार गरिने उहाँले बताउनुभयो ।

अध्ययन टोलीका अनुसार असोज ८ देखि ११ गतेसम्म लगातार परेको भीषण वर्षाका कारण भिरालो जमिन गलेको, सडकको भल व्यवस्थापन नभएको, अव्यवस्थित विकास निर्माण तथा भूमिगत पानीको उचित व्यवस्थापन नहुँदा पहिरोको जोखिम बढेको हो ।

बाढीपहिरोमा सात जनाको मृत्यु

पछिल्लो बाढीपहिरोका कारण म्याग्दीमा सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति पुगेको छ भने दर्जनौँ परिवार विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका छन् । क्षतिको विवरण अझै थपिन सक्ने उहाँले बताउनुभयो ।

बाढीपहिरोका कारण जिल्लाका मुख्य सडक, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।