जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार ०८:०९

भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन


रसुवा, असोज १९ । गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चार विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् ।

पूर्ण क्षति भएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

सम्पर्कविहीन ४५ विद्यार्थीसहित नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवी आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना छन् ।

बाढी प्रभावित अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ । चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा पठाइएको छ । मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माध्यमिक विद्यालय भलायडाँडा तथा मोडर्न ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा बसोबाससहित पठनपाठनको व्यवस्था गरिएको छ ।

बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । नौकुण्ड गाउँपालिकामा भने भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो ।