जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार ११:१५

कालिनिनग्रादमाथि खतरा भए परमाणु हतियार प्रयोग गर्ने पुटिनको चेतावनी


काठमाडौं, असोज १६ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने प्रस्ताव अस्वीकार गर्दै कालिनिनग्रादमाथि प्रत्यक्ष खतरा उत्पन्न भए रुसले आफ्नो सम्पूर्ण हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। त्यसमा परमाणु हतियारसमेत पर्न सक्ने उनले बताएका छन्।

बिहीबार मस्कोमा आयोजित भल्दाई राजनीतिक मञ्चमा बोल्दै पुटिनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्ने र त्यसको बदलामा रुसले युक्रेनी जहाजमाथि आक्रमण नगर्ने प्रस्तावलाई अस्वीकार गरेका हुन्। उनले यस्तो प्रस्तावलाई हास्यास्पद भएको बताए।

पुटिनले रुस वार्तामार्फत युक्रेन युद्ध अन्त्य गर्न इच्छुक रहेको बताए। युद्ध अन्त्य भएपछि युक्रेनलाई तटस्थ राष्ट्रका रूपमा हेर्न चाहेको उनको भनाइ छ।

पोल्यान्ड र लिथुआनियाबीच रहेको रुसी भूभाग कालिनिनग्रादलाई अलग पार्ने वा त्यसमाथि प्रत्यक्ष खतरा उत्पन्न गर्ने प्रयास भए रुसले आफ्नो सबै हतियार प्रयोग गर्ने पुटिनले चेतावनी दिएका छन्। उनले रुसले युरोपका कुनै देशमाथि आक्रमण गर्ने योजना नरहेकोसमेत बताएका छन्।

पुटिनको भनाइ रुसले नेटोलाई पठाएको कूटनीतिक नोट सार्वजनिक भएको केही दिनपछि आएको हो। उक्त नोटमा कालिनिनग्रादलाई रुसबाट अलग पार्ने वा नाकाबन्दी गर्ने प्रयास भए सम्पूर्ण सैन्य क्षमता, परमाणु हतियारसमेत प्रयोग गर्न सकिने चेतावनी दिइएको थियो।

नेटो महासचिव मार्क रुट्टेले भने रुसको परमाणु धम्की अनुपयुक्त र सहयोगी नभएको बताएका छन्। उनले नेटो रक्षात्मक गठबन्धन भएको उल्लेख गर्दै रुसलाई परमाणु धम्की रोक्न आग्रह गरेका छन्।

पुटिनले पश्चिमी मुलुकका प्रतिशोधात्मक कदम र बढ्दो तनावले द्वन्द्वलाई नियन्त्रण गर्न कठिन हुने अवस्थातर्फ धकेल्न सक्ने चेतावनीसमेत दिएका छन्।