जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार १८:५१

संसद अन्त्य गरेको एकसाता नबित्दै सरकारले ल्यायो तीन अध्यादेश, जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश


काठमाडौं, असोज २१ । सरकारले संघीय संसदको बैठक अन्त्य गरेको एकसाता नबित्दै तीन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले अति जरुरी भएको भन्दै तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न लागिएको मन्त्री पोखरेलको भनाई छ । गत भदौ भोटेकोशीमा बाढी आएको थियो । रसुवा, नुवाकोट र धादिङमा ठूलो बिनास निम्त्याएको बाढीको एक महिना ६ दिनपछि असोज १६ गते सरकारले संसदको दुवै सदनको बैठक अन्त्य गर्ने निर्णय लिएको थियो ।

लामो समयसम्म संसदमा बिद्येयक नल्याएर सरकारले अध्यादेशको बाटो रोजेको हो । प्रवत्ता पोखरेलका अनुसार हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई छोट्याएर तयारी पारिएको ऐनलाई अध्यादेशमार्फत जारी गर्न लागिएको हो ।