जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार १४:५५

प्रधानन्यायाधीश शर्माको स्वेच्छाचारितामाथि न्यायाधीश हरि फुयालको प्रतिवाद, बस्न सकेन संवैधानिक इजलास


काठमाडौं, असोज २१ । प्रधान न्यायाधीशले मनोजकुमार शर्माले मनपरि ढंगले संवैधानिक इजलास गठन गरेको भन्दै न्यायाधीशहरूले विरोध जनाएपछि संवैधानिक इजलास नै रोकिएको छ ।

न्यायाधीशह इजलाशमा बस्न अस्वीकार गरेपछि संबैधानिक इजलास आज नबस्ने भएको हो । प्रधानन्यायाधीश शर्माले बुधवार आफूसहित, सपना मल्ल प्रधान, हरि फुयाल, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलास तोक्नुभएको थियो । सर्वोच्च अदालतका अरू इजलासका लागि गोलाप्रथाद्वारा पेशी तोक्ने व्यवस्था भए पनि संवैधानिक इजलासमा प्रधान न्यायाधीशको उपस्थिति अनिवार्य भएकाले उहाँले नै पेशी तोक्ने चलन छ ।

संवैधानिक इजलास बस्नुअघि संयुक्त च्याम्बरमा भेला भएका बेला न्यायाधीश हरि फुयालले आजसम्मका इजलासमा आफूलाई किन नराखेको ? अनि आज किन राखेको ? भनेर प्रधान्यायाधीश शर्मासँग प्रश्न गर्नुभएको थियो ।

’हिजो अस्ति (यसअघिका संवैधानिक इजलासमा) मलाई किन राख्नुभएन ?, आज किन राख्नुभयो ? यसको तर्क पक्कै होला श्रीमान ? त्यसकारण हिजो नराखेको कुरामा मलाई केही भएन । तर अब यसपछाडिको कुरामा चाहिँ छलफल गरौं,’ फुयालको भनाई उधृत गर्दै एक न्यायाधीशले जनताटाइम्स डटकमसँग भने । फुयालले प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व र न्यायिक परदर्शिता कायम गराउन छाडेर स्वेच्छाचारिता देखाउन नहुने भन्दै सालिन ढंगमा कडा आपत्तिसमेत जनाउनु भएको छ ।

ती न्यायाधीशका अनुसार फुयालले प्रधानन्यायाधीश शर्मासामू स्पष्ट नीति र मावदण्डबिना तोकिने इजलाशमा आफू नबस्ने घोषणा गर्नुभएको थियो । ‘श्रीमान कि त संवैधानिक इजलास वरिष्ठताको आधारमा तोक्नुपर्यो कि वैकल्पिक नीति जस्तै गोलाप्रथा जस्तो विधि तय गर्नुपर्यो । मनलाग्दी गठन गरेको इजलासमा म बस्दिन भन्नुभयो,’ प्रधानन्यायाधीश शर्मासामू न्यायाधीश फुयालको घोषणा थियो ।

न्यायाधीश फुयालले न्यायालय एउटा मेरिट र स्पष्ट बिधिमा मात्र चल्न सक्ने तथ्यसमेत औंल्याउनु भएको छ । ‘संवैधानिक इजलास एउटा नियममा चल्नुपर्छ । यो व्यक्तिगत कुरा होइन, स्वतन्त्र न्यायपालिकाको विषय हो । त्यसैले नियम चाहिन्छ,’ न्यायाधीश फुयालको तर्क थियो ।

न्यायाधीश फुयालले संवैधानिक इजलास राज्यको धेरै महत्वपूर्ण संस्था भएकाले यसको गठन अनुमानयोग र निश्चित हुनुपर्ने आफ्नो स्पष्ट मान्यतासमेत सुनाउनु भएको छ ।

न्यायाधीश फुयालको यस अडानमा सर्वाेच्चका अन्य वरिष्ठ न्यायाधीशहरूले समेत सहमति जनाउनु भएको थियो । न्यायाधीश फुयालले अघि सारेको संवैधानिक इजलास गठनको प्रक्रिया सुनिश्चित गर्ने छलफल अघि बढाए मात्र इजलासमा बस्ने शर्तलाई प्रधानन्यायाधीश शर्माले असहमती जनाउनु भएको अर्का न्यायाधीशले जानकारी दिए ।

‘यो विषयमा कि त प्रधान न्यायाधीशज्यूले ‘म यो छलफलमा लिएर जान्छु, अहिले बसौं’ भन्नुहुन्छ भने आज इजलास बसौं,’ न्यायाधीशहरूले सामुहिक शर्त थियो । तर प्रधान न्यायाधीश शर्माले सिधै जवाफ दिए, ‘होइन, यो विषयमा छलफल हुँदैन, म मेरो हिसाबले गठन गर्छु ।’

प्रधानन्यायाधीश शर्माको यो जवाफसँगै न्यायाधीश फुयालले प्रतिवाद गर्नुभयो, ‘त्यसो भए मचाहिँ इजलासमा नबस्ने ।’ न्यायाधीश फुयालको यो अडानपछि प्रधानन्यायाधीश शर्माले कर्मचारीलाई बोलाएर आजको इजलास नबस्ने जनाउ दिन निर्देशन दिनुभएको थियो ।