जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार १४:०६

कांग्रेस महाधिवेशनमा गगन-बिश्वप्रकाशले गरे लोकतन्त्रकै हुर्मत लिने काम, उम्मेद्वारी साटफेरसहित गर्न थाले सेटिङ


काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा लोकतन्त्रकै हुर्मत लिने काम अघि बढाइएको छ ।

भापतिका उम्मेद्वार गगन थापा र बरिष्ठ उपसभापतिमा निर्विरोध भइसक्नुभएका बिश्वप्रकाश शर्माले योजनावद्ध रुपमा निर्वाचन समितिमार्फत यस्तो गलत काम गर्न लगाउनु भएको हो ।

कांग्रेस महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षी सोचेभन्दा धेरै भएपछि थापा र शर्माले उम्मेद्वारी दर्ता सकिसकेपछि पनि सच्याउने नाममा अर्कै पदमा उम्मेद्वारी कायम गर्ने लोकतन्त्रबिरोधी हर्कत गराउनु भएको हो । उम्मेदवारहरूको भीड व्यवस्थापन कठिन बन्दै गएका बेला केही प्रभावशाली नेतालाई व्यवस्थापन गर्न उम्मेदवारी नै सच्याउने गलत बाटोतिर कांग्रेस लागेको हो ।

निर्वाचन समितिले उम्मेदवारी सच्याउन निवेदन दिए सच्याउन मिल्नेगरी सूचना जारी गरेपछि महाधिवेशनस्थलमा खैलाबैलासमेत मच्चिएको छ । थापा र शर्माले महाधिवेशनअगावै केन्द्रीय समितिमा ल्याउने मानिस तय गरिसकेको अर्थमा यो घटनालाई प्रतिनिधिहरूले लिएका छन । ‘यो सरासर बेइमानी हो, पहिले नै को–को ल्याउने टुंग्याएर महाधिवेशनको नाटक किन गर्ने ?’ सूचनालगत्तै केही प्रतिनिधिले आक्रोश पोखे ।

थापा निकट स्रोतका अनुसार महामन्त्रीमा उम्मेदवारी दिएका गुरु घिमिरे कमजोर देखिएको कारण पराजीत हुने त्रासमा उपसभापतिमा लैजाने योजना र अन्य नेताको पनि ब्यवस्थापनका लागि निर्वाचन समितिको यो सूचना आएको हो ।

उम्मेदवारको मनोनयन फिर्ता÷उम्मेदवारको सच्याई पाउने निवेदन÷प्रकाशित नामावलीमा नाम छुट्न गएको भए सोको दाबी गर्ने समयअवधी तोकिएको निर्वाचन समितिका सचिव राजु कटुवालले जारी गरेको सूचनामा उल्लेख छ ।
महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि उम्मेदवारको मनोनयन फिर्ता÷उम्मेदवारीको सच्याई पाउने निवेदन÷प्रकाशित नामावलीमा नाम छुट्न गएको भए सो समेतको दाबी गर्न पाउने सुविधा दिइएको छ ।

सूचनामा भनिएको छ, ‘फिर्ता÷उम्मेदवारीको सच्याई पाउने निवेदन÷प्रकाशित नामावलीमा नाम छुट्न गएको भए सो समेतको दाबी गर्न बुधवार दिनको २ः०० बजे भित्र सम्पर्क गर्नु हुन यसै सूचना मार्फत सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य महानुभावहरूलाई सूचित गरिन्छ ।’

उम्मेद्वारी दर्ता सकिएपछि पद नै साटफेर गर्न मिल्ने कार्यतालिका लोकतन्त्रमा बिरलै हुने घटना हो । पहिला नै तय भइसकेको मानिस हार्ने भएमा नेतृत्वले सेटिङमा यस्तो हर्कत गर्ने गरेका छन । यस घटनाले सुध्रिएको कांग्रैसकै हुर्मत लिएको प्रतिनिधिहरूको भनाई छ ।

कांग्रेसमा हरेक पदमा आवश्यकभन्दा धेरै नै बढी उम्मेद्वार परेपछि थापा र शर्माले तय गरेका उम्मेद्वार हार्ने र जित्न सक्ने उम्मेद्वारलाई हराउनका लागि यो खेल खेलिएको घटनाक्रमले देखाएको छ ।

उपसभापतिका उम्मेद्वार डाक्टर मिनेन्द्र रिजालले थापासँग भेटेपछि सहयोग नपाउने भन्दै फिर्ता लिने घोषणा गरेपछि पहिला नै सेटिङ भइसकेको भन्दै तरंगित कांग्रेस प्रतिनिधिहरू निर्वाचन समितिको सूचनाले झनै झस्किएका छन ।