काठमाडौं, असोज २१ । दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले कन्सल्टेन्सीका सञ्चालक २८ वर्षीय गणेश पाण्डेलाई पक्राउ गरेको हो। नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी घर भएका पाण्डे हाल काठमाडौंको सामाखुसीमा बस्दै आएका थिए। उनलाई मंगलबार रानीबारी चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कन्सल्टेन्सीले आफ्नो छोरालाई दक्षिण कोरिया पठाइदिने भन्दै रकम लिएर दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक पीडित महिलाले टिकटकमा भिडियो सार्वजनिक गर्नुभएको थियो । भिडियोमार्फत ती महिलाले आफूलाई न्याय दिन र दोषीमाथि कारबाही गर्न प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह गनुभएको थियो । भिडियो सार्वजनिक भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा पाण्डेले ठगी गरेको खुलेपछि उनलाई पक्राउ गरिएको कार्यालयका एसपी रामेश्वर कार्कीले बताउनुभयो। पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्