काठमाडौं, असोज २१ । मुस्ताङको लेतेदेखि चीनसँगको कोरला नाकासम्म झन्डै पाँच सय वटा मालवाहक कन्टेनर सडकमा रोकिएका छन् ।
असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछिको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि ती कन्टेनर एक सातादेखि बाटोमै रोकिएका हुन् । यस्तै, ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय गाडी जोमसोमस्थित बसपार्कमा राखिएका छन् ।
कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला सडकखण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक कन्टेनर जोमसोम ल्याइएको छ ।
यता म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा अवरुद्ध सडक मर्मतको काम भइरहेको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तीमा एक साता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन् ।
चीनबाट कोरला नाका हुँदै दशैँ–तिहारलाई लक्षित गरी नेपाल भित्र्याइएका मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्तासमेत प्रभावित भएका छन् ।
मालवस्तु ढुवानीमा भएको अवरोधका कारण दशैँको समयमा पनि नेपाली बजार अपेक्षाअनुसार चलायमान हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्