काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा महिलाबाट प्रतिमा गौतम र पिछडिएकाे क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै महिलातर्फ सहमहामन्त्री पदमा विजय हासिल गर्नुभएको छ। उहाँले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो। बास्तोलाले १ हजार ५५४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको अन्तरले पराजित गर्नुभएको हो।
त्यसैगरी, कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ।
कांग्रेसको मिडिया सेन्टरले सार्वजनिक गरेको सहमहामन्त्री (पिछडिएको क्षेत्र) को अन्तिम नतिजाअनुसार शाही निर्वाचित हुनुभएको हो। यद्यपि, केन्द्रीय निर्वाचन समितिले भने उहाँको निर्वाचनसम्बन्धी औपचारिक अन्तिम परिणाम घोषणा गरिसकेको छैन।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना तथा परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ।














प्रतिक्रिया दिनुहोस्