काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार रामहरि खतिवडा र अजयबाबु शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ।
खतिवडा २ हजार ९१० मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजयी हुनुभएको हो। त्यस्तै, शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरी सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको छ।
यस पदमा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी १ हजार ८५२ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। निर्वाचन समितिका अनुसार पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले १ हजार ३८१, राजीव ढुंगानाले १ हजार २३२ र विकास कोइरालाले १ हजार १४४ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी, अमृतकुमार अर्यालले ८२१, रमेश धमलाले ७८० र विमल क्षेत्रीले २८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।
सहमहामन्त्री (खुला) तर्फ सर्वाधिक मतसहित विजयी हुनुभएका खतिवडा गत २ असोजमा देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किनुभएको थियो।
देउवा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेताहरूमध्ये हालसम्म दुई जना मात्रै पार्टीको पदाधिकारीमा निर्वाचित हुनुभएको छ। खतिवडाभन्दा अघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा विजयी हुनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्