काठमाडौं, असोज २८ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आश्विन शुक्ल चतुर्थीका दिन दसैँघर तथा पूजा कोठामा कुष्माण्डा देवीको आह्वान गरी पूजा गर्ने शास्त्रीय परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीनै प्रकारका ताप नाश गर्ने विश्वास गरिन्छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएसँगै सुरु भएको दुर्गा पूजा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा देवीको आराधनापछि आज कुष्माण्डा देवीको पूजामा पुगेको हो।
नवरात्रका नौ दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती र शोभाभगवतीलगायत मन्दिरमा भक्तजन पूजा तथा दर्शनका लागि पुगेका छन्।
त्यस्तै, उपत्यकाबाहिरका मनकामना, पलाञ्चोक भगवती, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका र विन्ध्यवासिनीलगायत शक्तिपीठमा पनि विशेष पूजा आराधना भइरहेको छ।
नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ। त्यसपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर नेपालीले बडादसैँ मनाउने परम्परा छ।














प्रतिक्रिया दिनुहोस्