जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार ०७:२४

राजमार्ग अवरोधले दसैँमा खसीबोकाको मूल्य बढ्ने चिन्ता, किलोको ९ सय रुपैयाँ पुग्यो


काठमाडौं, असोज २८ । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीबोकाको माग बढेको छ। तर बाढीपहिरो र राजमार्ग अवरोधका कारण ढुवानी प्रभावित हुँदा दसैँसम्म मूल्य थप बढ्न सक्ने चिन्ता बढेको छ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार उपत्यकामा वार्षिक ५५ हजारदेखि ६० हजारसम्म खसीको माग हुने गरेको छ। यस वर्ष भने ४० हजारदेखि ४५ हजारसम्म मात्रै खसी भित्रिने अनुमान छ।

अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ९ सय रुपैयाँ पुगेको छ। ढुवानी सहज नभए दसैँसम्म मूल्य एक हजार रुपैयाँ नाघ्न सक्ने अध्यक्ष सुवेदीले बताउनुभयो।

उहाँका अनुसार हालसम्म काठमाडौंमा करिब २० हजार खसी भित्रिएका छन्। बाढीपहिरो र सडक अवरोधका कारण खसीबोका बाटोमै रोकिने, ढुवानी खर्च बढ्ने र पशु मर्ने जोखिमले आपूर्ति प्रभावित भएको छ।

कलंकी खसीबजारका व्यापारी रामहरि थापा क्षेत्रीका अनुसार अहिले खसीको खुद्रा मूल्य प्रतिकिलो ८ सयदेखि ८ सय ५० रुपैयाँसम्म पुगेको छ। मुग्लिनतर्फको सडकमा यातायात सञ्चालनमा समस्या र इन्धनलगायत वस्तुको मूल्यवृद्धिले पनि लागत बढाएको उहाँले बताउनुभयो।

टीकापुरबाट खसीबोका ल्याउने व्यापारी अब्दुल कुरैसीले सडक जाम र दुर्घटनाका कारण ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो। उहाँका अनुसार मलेखुनजिक भएको घटनामा मात्रै आठवटा खसी मर्दा करिब तीन लाख रुपैयाँको क्षति भएको थियो।

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि दसैँका लागि खसीबोका नल्याउने भएको छ। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार प्रतिकूल मौसम र बाढीका कारण खसीबोका काठमाडौं नल्याउने निर्णय गरिएको हो।

विगतमा कम्पनीले दसैँका बेला खसीबोका बिक्री गरेर बजारमा कृत्रिम मूल्यवृद्धि रोक्न र मूल्य नियन्त्रणमा सहयोग गर्दै आएको थियो। यस वर्ष निजी क्षेत्रको आपूर्ति र ढुवानी सहज नभए उपभोक्ताले दसैँमा थप महँगो मूल्य तिर्नुपर्ने जोखिम देखिएको छ।