काठमाडौं, असोज २७ । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
नवरात्रका अवसरमा दसैँघर तथा पूजा कोठामा चन्द्रघण्टा देवीको आह्वान गरी विशेष पूजा र ध्यान गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार हातमा चन्द्रमाको आधार भएको घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा पनि चन्द्रमा घण्टामा रहेकी देवीलाई चन्द्रघण्टा भनिएको उल्लेख छ।
चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुने धार्मिक ग्रन्थमा उल्लेख छ। देवीले अत्याचारी शक्तिको नाश गर्ने मान्यता रहेको छ। नवरात्रको यस दिन देवीको पूजा आराधना र ध्यान गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाबाट पाप नाश हुने विश्वास व्यक्त गरिएको छ। उहाँका अनुसार देवीको स्वरूप शान्त, करुणामयी र सामान्य देखिए पनि उहाँलाई शक्तिशाली देवीका रूपमा पूजा गरिन्छ। गीतसङ्गीत क्षेत्रमा लागेकाहरूले पनि चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने परम्परा रहेको उहाँले बताउनुभयो।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्री र दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष आराधना गर्छन्। नौ दिनको पूजा आराधनापछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ।
दुर्गा पक्षका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा, आराधना र दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ। कतिपय भक्तजनले नवरात्रका नौ दिनमा विभिन्न शक्तिपीठ पुगेर दर्शन तथा पूजा गर्ने परम्परासमेत निर्वाह गर्दै आएका छन्।














प्रतिक्रिया दिनुहोस्