जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार ०८:११

खगेन्द्र सुनारको अडियो प्रकरणमा रवि र बालेनको मौनतामाथि सूर्य थापाको प्रश्न : ‘२० घण्टादेखि मुखमा पानी राखेर व्रत बस्नुभएको हो ?’


काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अश्लील गालीगलौजसहितको भनिएको अडियो सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहको मौनतामाथि नेकपा एमालेका नेता सूर्य थापाले प्रश्न उठाउनुभएको छ।

थापाले सामाजिक सञ्जालमार्फत लामिछाने र साहलाई सम्बोधन गर्दै सार्वजनिक विवादबारे प्रतिक्रिया नजनाएको भन्दै आलोचना गर्नुभएको हो। उहाँले दुवै नेताको मौनताप्रति प्रश्न उठाउँदै जवाफदेहिताको विषयसमेत उठाउनुभएको छ।“रवि लामिछानेजी र बालेन्द्र साह महाशय, तपाईंहरू २० घण्टादेखि मुखमा पानी राखेर व्रत बस्नुभएको हो र ?” थापाले प्रश्न गर्नुभएको छ।

उहाँले दुवै नेताको मौनतामा सार्वजनिक जवाफदेहिता हराएको टिप्पणी गर्दै रास्वपाको राजनीतिक चरित्रमाथि पनि आलोचना गर्नुभएको छ। थापाले आफ्नो टिप्पणीमा नयाँ राजनीतिक शक्तिको दाबी गर्ने समूहको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक विवादले उक्त समूहको वास्तविक चरित्र उजागर गरेको दाबी गर्नुभएको छ। “नयाँको यस निर्लज्ज अधोपतनसँगै चटकवाजहरूको वास्तविक मुकुण्डो पनि भण्डाफोर, उदाङ्गो र निर्वस्त्र भएको छ,” उहाँले लेख्नुभएको छ।

त्यस्तै, थापाले उक्त घटनालाई रास्वपाको परिचय, चरित्र र अभ्याससँग जोड्दै सांसद सुनारलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।

सांसद सुनारको भनिएको अडियो सार्वजनिक भएपछि उत्पन्न विवादमा पार्टी नेतृत्वको प्रतिक्रियालाई लिएर थापाले प्रश्न उठाउनुभएको हो। उहाँको टिप्पणीमा सभापति लामिछाने र प्रधानमन्त्री साहको मौनताप्रति असन्तुष्टि व्यक्त गरिएको छ।