काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएका श्रव्य सामग्री र गम्भीर आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। पार्टीले छानबिनको निष्कर्ष नआउँदासम्म उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
सांसद सुनारको अश्लील गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि रास्वपाले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँमाथि उठाइएका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयका आरोपलाई गम्भीर र संवेदनशील रूपमा लिइएको उल्लेख छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
सुनारसँग सम्बन्धित घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको रास्वपाले जनाएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन टुङ्गो नलागेसम्म उहाँलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको पार्टीको विज्ञप्तिमा जनाइएकाे छ ।
त्यस्तै, सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास पनि पार्टीले व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै रास्वपाले अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।















प्रतिक्रिया दिनुहोस्