जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार ०८:१७

खगेन्द्र सुनारको अडियो प्रकरणमा एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी : रास्वपाको मौनता कुकृत्यको मौन अनुमोदन नबनोस्


काठमाडौं, असोज २७ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको भनिएको अश्लील अडियो सार्वजनिक भएको सन्दर्भमा कडा टिप्पणी गर्नुभएको छ। उहाँले अडियोमा भनिएको अभिव्यक्तिलाई हिंस्रक, महिलाद्वेषी, अश्लील र परपीडक भन्दै भर्त्सना गर्नुभएको हो।

ज्ञवालीले आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको विवादास्पद चरित्र सार्वजनिक हुँदा पनि रास्वपा मौन रहनु बिडम्बनापूर्ण भएको टिप्पणी गर्नुभएको छ। उहाँले पार्टी नेतृत्वको मौनताले गलत व्यवहारलाई अप्रत्यक्ष रूपमा समर्थन गरेको अर्थ लाग्न सक्ने भन्दै सचेत गराउनुभएको छ। “हिंस्रक, महिलाद्वेषी, अश्लील र परपीडक। जति भर्त्सना गरे पनि पुग्दैन,” ज्ञवालीले टिप्पणी गर्नुभएको छ।

उहाँले सांसद सुनारसँग जोडिएको विवादमा रास्वपाले सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने आशय व्यक्त गर्दै पार्टीको मौनताप्रति प्रश्न उठाउनुभएको छ। “तर आफ्नो पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको यस हदको विद्रूप चरित्र उदाङ्गो हुँदा पनि रास्वपा मौन रहनु बिडम्बनापूर्ण छ,” उहाँले लेख्नुभएको छ।

ज्ञवालीले रास्वपाको मौनतालाई विवादास्पद व्यवहारको मौन अनुमोदनका रूपमा बुझिने अवस्था आउन नहुनेमा जोड दिनुभएको छ। उहाँले भन्नुभएको छ, “रास्वपाको यस्तो मौनता ती विवादास्पद पात्रका कुकृत्यको मौन अनुमोदनको रूपमा बुझिने स्थिति नआओस्।”

सांसद सुनारको भनिएको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्। एमाले नेता ज्ञवालीको टिप्पणीले उक्त घटनामा रास्वपा नेतृत्वको जवाफदेहिताको विषयलाई थप चर्चामा ल्याएको छ।