काठमाडौं, असोज २६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जल्दाबल्दा सांसद खगेन्द्र सुनारले आपत्तिजनक काण्ड बाहिरिएको छ ।
एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी सारिरीक सम्बन्धका साथै अश्लिल भिडियो बनाएर ’ब्ल्याकमेल’ गरेको तथ्यसहितको अडियो बाहिर आएको हो । , ‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ,तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ ?’ अडियो सम्वादमा ती महिलाले भनेकी छन ।
सांसद सुनारले ती महिलालाई अश्लिल गालीगलौज गर्दै पैसा मागेको र नदिए ‘मारेर रगत खाने’ धम्की दिएको ४ वटा अडियो संवाद फेलापरेको भन्दै जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सोमवार घटना सार्वजनिक गरेको हो ।
अडियो क्लिपमा सुनारले प्रयोग गरेका शब्द सुन्नसमेत नसकिने खालको रहेको छ । संवादअनुसार शुरुमा महिलाले तनावका कारण आफ्नो फेसबुक अकाउण्ट डिएक्टिभेट गर्नु परेको बताउँछिन् । जवाफमा सुनारले ‘आज तेरो रगत कसरी खान्छु, पख… डी’ भन्दै अकाउण्ट डिएक्टिभेट नगर्न चेतावनी दिएका छन् ।
त्यसपछि महिलाले ‘गर्न खोजेको, भएन’ भनेको सुनिन्छ । तर, सुनार झन आक्रोशित हुँदै धम्की दिन्छन, ‘किन गरेको डिएक्टिभेट ? साँझ म पुग्दासम्म एक्टिभेट भएन भने हेर्दै जा, के हुन्छ !’ महिला नम्र आवाजमा बोल्छिन । बागमती प्रदेशको पूर्वराज्यमन्त्री समेत रहेकी ती महिलालाई सुनारले तत्काल राजीनामा दिन निर्देशन दिएको पनि अडियोबाट खुलेको छ ।
सुनारले धम्कीपूर्ण अश्लिल गालीगलौज दोहोर्याउँदै भनेका छन्, ‘म पुग्दासम्म राजीनामा दिएर तेरो संसदीय दललाई बुझा, बुझिस् कि बुझिनस् ? तेरो काल नजिक आइराको छ,पख् !’, जवाफमा महिलाले डराएको स्वरमा ‘बुझेँ’ भनेकी छन् । त्यसपछि सोध्छिन्, ‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ,तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ ?’
पीडित महिला अगाडि भन्छिन, ‘मलाई बूढी भन्ने, तर सधैँ कुट्ने, पिट्ने, काट्छु भन्ने, मार्छु भन्ने, मेरो नांगो भिडियो बनाउने, दुनियाँथरी टर्चर दिने, पैसा दिन्नँ भनेपछि पिट्ने,आखिर मैले यो कहिलेसम्म सहने ?’
अडियो संवादमा त्यसपछि पैसाको बार्गेनिङ चलेको सुनिन्छ । सांसद सुनार भन्छन्, ‘मलाई साँझसम्म चाहिन्छ, साँझ ८ बजेसम्म हुन्छ नि हैन पैसा ? ओइ, सुनिस्, साँझ आउँछ नि हैन ?’ महिला डराउँदै जवाफ दिन्छिन्, ‘हस्’ ।
सांसद सुनारको यो आपत्तिजनक संवाद र धम्की बाहिरिएपछि कार्वाहीको चर्काे आवाज उठेको छ । सुनारलाई सांसद पदमा राखिरहन नमिल्ने अधिकांशको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्