काठमाडौं, असोज २६ । इजरायलमा केयरगिभरका रूपमा पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस प्रकरणमा खड्कासहित पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा कांग्रेस नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन्।
अदालतले खड्कालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गरेको छ। अन्य प्रतिवादीको बयानमा खड्काको संलग्नताबारे उल्लेख नभएको तथा पीडितले दिएको जाहेरीमा पनि खड्काले रकम लिएको वा कसुरमा संलग्न रहेको पुष्टि गर्ने तथ्य नदेखिएको आदेशमा जनाइएको छ।
सीआईबीले सुरुमा यस प्रकरणमा पक्राउ परेका व्यक्तिविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेको र घटना संगठित रूपमा भएको देखिएपछि संगठित अपराधको कसुरसमेत जोडिएको थियो।
अदालतको आदेशले खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न बाटो खोलेको हो। थुनाबाहिर रहेर अनुसन्धान हुने आदेशले आरोपबाट उन्मुक्ति पाएको भने जनाउँदैन।














प्रतिक्रिया दिनुहोस्