काठमाडौं, असोज २६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्रमाथि प्रहार भएको बताउनुभएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार नवमनोनित केन्द्रीय कमिटी सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले राष्ट्रिय अस्मिता, स्वाधीनता तथा स्वतन्त्रता कमजोर पारिएको बताउनुभयाे । त्यसको पुनर्प्राप्तिका लागि आन्दोलन अपरिहार्य रहेको उहाँकाे भनाइ छ । उहाँले बलजफ्ती दमन स्वीकार नगर्ने चेतावनी दिँदै प्रतिवादमा उत्रिनुपर्ने अवस्था आउन सक्ने स्पष्ट पार्नुभयाे।
उहाँले वर्तमान अवस्थालाई सामान्य राजनीतिक असहमतिका रूपमा मात्र लिन नहुने धारणा राख्दै त्यसको प्रतिवादका लागि पार्टी पंक्ति तयार रहनुपर्ने सन्देश दिनुभयो। ‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ’, ओलीले भन्नुभयाे ।
राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको बताउँदै अध्यक्ष ओलीले स्थितिमा यसलाई पुनर्प्राप्ति गर्नु अनिवार्य सर्त रहेकाे बताउनुभयाे। ‘बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ, विगतमा पनि हामीले यो गरेका छौँ र फेरि पनि गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयाे ।
अध्यक्ष ओलीले आन्दोलनको अर्थ लुटपाट र आगजनी नभएको स्पष्ट पार्दै असंगठित तथा निरस्त्र जनतामाथि संगठित शक्तिले गर्ने दमनको प्रतिवाद नै आन्दोलन भएको व्याख्या गर्नुभयो। उहाँको लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र राजनीतिक अधिकारको विषयलाई लिएर एमाले संघर्षकोबाट पछि नहट्ने बताउनुभयाे ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेविरुद्धको घेराबन्दी, षड्यन्त्र र राजनीतिक प्रहार अझै नरोकिएको दाबी गर्नुभयो। उहाँले २०७७ सालदेखि नै पार्टी कब्जा गरेर ध्वस्त पार्ने योजना सुरु भएको, २०७८ सालमा पार्टी विभाजन गरिएको र २०७९ सालको निर्वाचनमा एमालेविरुद्ध व्यापक मोर्चाबन्दी गरिएको बताउनुभयाे । ‘हामीविरुद्धको घेराबन्दी अझै सिद्धिएको छैन, यो एकदमै चालु छ, सामाजिक सञ्जालमार्फत हाम्रो चरित्रहत्या गर्ने र जनताको नजरमा गिराउने काम भइरहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो।
गत निर्वाचनमा विरोधीहरूले अघि सारेका सबै रणनीति र षड्यन्त्रलाई चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै उहाँले अब त्यस्ता प्रयासलाई सफल हुन नदिने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।
ओलीले समाजवादी आन्दोलन समाप्त पार्ने उद्देश्य राख्नेहरूलाई ‘मूर्ख’ को संज्ञा दिँदै कम्युनिष्ट आन्दोलन सत्य, न्याय र मानवतावादमा आधारित रहेको दाबी गर्नुभयो।

नवमनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतको योगदान र इतिहासको आधारमा मात्रै पार्टीभित्र जिम्मेवारी कायम राख्न नसकिने कडा चेतावनी दिनुभयो। उहाँले अब नेताहरूको मूल्याङ्कन क्षमता, सक्रियता र व्यवहारमा देखिने कार्यसम्पादनका आधारमा समेत हुने स्पष्ट पार्नुभयो। ‘इतिहासको मात्र कुरा गरेर, त्यसलाई मात्रै मापदण्ड बनाएर अब मूल्याङ्कन हुँदैन। विगतको इतिहास र योगदानसँगै अब क्षमता छ कि छैन, त्यसको पनि मूल्याङ्कन हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो।
कुनै विषयमा जतिसुकै विज्ञता भए पनि व्यवहारमा सक्रिय भएर काम नगरे त्यसको अर्थ नहुने उहाँको भनाइ थियो। पार्टीले दिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न ज्ञान र अनुभवसँगै कामप्रतिको प्रतिबद्धता तथा सक्रियता पनि आवश्यक रहेको उहाँले बताउनुभयो।
लामो परिश्रम, त्याग र पार्टीको विश्वास जितेपछि मात्रै जिम्मेवारी प्राप्त हुने उल्लेख गर्दै अध्यक्ष ओलीले पद प्राप्त गर्नु उपलब्धिको अन्तिम बिन्दु नभई वास्तविक परीक्षाको सुरुवात भएको धारणा राख्नुभयो।
उहाँले नवमनोनित केन्द्रीय सदस्यहरूलाई पार्टीको जिम्मेवारीअनुसार सक्रियतापूर्वक काम गर्न, आफ्नो क्षमता व्यवहारमै प्रमाणित गर्न र संगठन निर्माणमा परिणाम देखिने गरी खटिन निर्देशन दिनुभयो।














प्रतिक्रिया दिनुहोस्