काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणनासम्बन्धी तालिका सार्वजनिक गरेको छ। समितिले आज जारी गरेको सूचनामार्फत मतगणनाको मिति र समयबारे जानकारी गराएको हो।
समितिका सदस्य सचिव रामकृष्ण कँडेलद्वारा हस्ताक्षरित सूचनाअनुसार सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना छुट्टाछुट्टै समयमा गर्ने व्यवस्था गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार सहमहामन्त्री (दलित), केन्द्रीय सदस्य (दलित समूह) र केन्द्रीय सदस्य (दलित महिला) पदको मतगणना भाेलि बिहान १० बजे सुरु गर्ने तालिका राखिएको छ।
त्यस्तै, सहमहामन्त्री (आदिवासी जनजाति) तथा केन्द्रीय सदस्य (आदिवासी जनजाति) समूहको मतगणना पनि भाेलि बिहान १० बजेका लागि निर्धारण गरिएको छ।
यसैगरी, केन्द्रीय सदस्य (अपाङ्गता भएका व्यक्ति, खुला) तथा केन्द्रीय सदस्य (अपाङ्गता भएका व्यक्ति, महिला) समूहको मतगणना बिहान १० बजे र सहमहामन्त्री (मधेसी) तथा केन्द्रीय सदस्य (मधेसी समूह) को मतगणना दिउँसो १२ बजे सुरु गर्ने तालिका सूचनामा उल्लेख छ।
निर्वाचन समितिले केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको हकमा उम्मेदवार स्वयं वा प्रतिनिधिको व्यवस्था नभएको जानकारीसमेत गराएको छ।















प्रतिक्रिया दिनुहोस्