जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार २१:२७

तनहुँकाे आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते


तनहुँ, असोज २६ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६, डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते हुनुभएको छ।

सोमबार साँझ ५ः४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा ब्याक भएर सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा जिपमा सवार आठ जनामध्ये सात जना घाइते भएका थिए। घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६, खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङलाई उपचारका क्रममा साँझ ६ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते हुनेहरूमा सोही स्थानका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ रहेका छन् । घाइते सबैको आँबुखैरेनी अस्पताल, तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिपका चालक आँबुखैरेनी गाउँपालिका–६, हिलेखर्क निवासी ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।