काठमाडौं, कात्तिक २ । काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएर होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई दसैँ र तिहारको रौनकले छुन सकेको छैन। घर र रोजगारी गुमाएका उनीहरूलाई चाडपर्व कसरी मनाउनेभन्दा पनि दीर्घकालीन बासस्थान र जीविकोपार्जनको चिन्ताले सताएको छ।
थापाथलीस्थित सुकुम्बासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ गतेदेखि अस्थायी बासस्थानमा बस्दै आउनुभएको छ। सुरुमा कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्नुभएकी उहाँलाई तीन महिनापछि भक्तपुरको बोडेमा सारिएको थियो।
घरमा हुँदा परिवारसँगै चाडपर्व मनाउने गर्नुभएकी हरिमायालाई यस वर्ष परिवार छरिएपछि कसरी दसैँ मनाउने भन्ने टुंगो छैन। “पहिला आफैँ काम गरेर सानो झुप्रो भए पनि परिवारसँग बस्थ्यौँ, खान्थ्यौँ, रमाइलो गर्थ्यौँ। वैशाख १२ गते घर भत्किएपछि परिवार साथमा छैन। कोही कता, कोही कता छन्,” उहाँले भन्नुभयो।
विस्थापित हुनुअघि वरपरका घरमा काम गरेर मासिक १० देखि १२ हजार रुपैयाँ कमाउने गरेको उहाँले बताउनुभयो। त्यही आम्दानीबाट गुजारा चल्दै आएको थियो। अहिले होल्डिङ सेन्टरमा बिहान–बेलुकाको खाना उपलब्ध भए पनि रोजगारी गुमेपछि भविष्यको चिन्ता बढेको उहाँको भनाइ छ।
सरकारले छानबिन गर्ने भन्दै आफूहरूलाई अस्थायी बासस्थानमा ल्याएको भए पनि दीर्घकालीन व्यवस्थापनबारे टुंगो नलागेको उहाँले बताउनुभयो। “सरकारले छिटो दीर्घकालीन बासस्थानको व्यवस्था गरिदिए हुन्थ्यो। त्यसपछि काम गरेर परिवारसँग बसेर खान सकिन्थ्यो,” उहाँले भन्नुभयो।
शंखमुलको सुकुम्बासी बस्तीबाट विस्थापित पवन गुरुङको पीडा पनि उस्तै छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष गुरुङलाई वैशाख ८ गते खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको थियो। घर भत्काउनुअघि नै वैकल्पिक बासस्थानको व्यवस्था गर्न सुझाव दिए पनि बेवास्ता गरिएको उहाँको गुनासो छ।
होल्डिङ सेन्टरमा दालभात उपलब्ध भए पनि सबैको आवश्यकता पूरा हुन नसकेको उहाँले बताउनुभयो। विशेषगरी बिरामी र बालबालिकाले आवश्यक पोसिलो आहार पाउन नसकेको उहाँको भनाइ छ।
उहाँका अनुसार घर भत्काइएको दुई महिनापछि सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यसपछि भाडामा बस्ने परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने भनिए पनि उक्त रकम नपाएको उहाँले गुनासो गर्नुभयो। सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरी लालपुर्जा दिने आश्वासन पाए पनि कहिले उपलब्ध हुन्छ भन्ने टुंगो नलागेको उहाँले बताउनुभयो।
होल्डिङ सेन्टरमा रहेका परिवारको चिन्ता तत्कालको खानपानमा मात्रै सीमित छैन। स्थायी बासस्थान, रोजगारी र परिवारको भविष्यबारे अन्योल कायमै छ। “पीडितलाई जग्गा कहिले बाँड्ने? हामी मरिसकेपछि?” उहाँले प्रश्न गर्नुभयो।
दसैँ–तिहारमा परिवारसँग बसेर चाडपर्व मनाउने चाहना हुँदाहुँदै पनि विस्थापित परिवारका लागि यस वर्षको चाड घर फर्किने आशा र स्थायी बासस्थानको प्रतीक्षामै बित्ने देखिएको छ।














प्रतिक्रिया दिनुहोस्