काठमाडौं, कात्तिक २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपतका बेला पुराना भनिएका राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत र पुनःस्थापनामा खटिएको तर नयाँ भनिएका दलका नेता तथा कार्यकर्ता सामाजिक सञ्जालमै सीमित भएको टिप्पणी गर्नुभएको छ ।
मुख्यमन्त्री थापा मगरले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले उद्धार, राहत र व्यवस्थापनका काम गरेको उल्लेख गर्दै नयाँ भनिएका पार्टीको सक्रियता सामाजिक सञ्जालमा बढी देखिएको बताउनुभयो । “अस्ति महाविपत्ति आउँदा पुराना दलका नेता–कार्यकर्ताहरू फिल्डमा खट्यौँ, हामी भूगोलमा खट्यौँ, नयाँ भनाउँदाहरू सबै गुगलमा रमाए, हाम्रा युवा संघ, युथ भोलेन्टियर, जिफन्टलगायत भ्रातृ संगठन र पार्टीका नेताहरू बाढीपहिरोमा पुरिएका भग्नावशेष र लासहरू संकलन गर्न लागे, भला वाइसीएल पनि लाग्यो, अन्य राजनीतिक दलहरू पनि लागे,” उहाँले भन्नुभयो ।
उहाँले विपत्का बेला प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थित भएर काम गर्नु र सामाजिक सञ्जालमा सक्रिय हुनु फरक विषय भएको उल्लेख गर्दै नयाँ भनिएका राजनीतिक दलहरूको भूमिकामाथि प्रश्न उठाउनुभयो । “खोइ नयाँ भनाउँदा पार्टी कहाँ देखियो त ? उही सामाजिक सञ्जालबाहेक कहीँ देखियो र ? देखिएन नि त,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री थापा मगरले रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुगेर वैकल्पिक मार्ग निर्माणदेखि स्वास्थ्य सेवा सञ्चालन र आवागमन सहज बनाउने काममा आफू प्रत्यक्ष खटिएको बताउनुभयो । “म अहिले पनि भन्छु, यदि भोटेकोशी बाढीपछि म भदौ ११ गते रसुवा नपुगेको भए अहिलेसम्म पनि त्यहाँ वैकल्पिक बाटो बन्ने थिएन,” उहाँले भन्नुभयो, “त्यहाँ तुइन हालिने थिएन, त्यहाँ हामीले डब्लुएचओको सहयोगमा नुवाकोटमा अर्को अस्पताल सञ्चालन गरेका छौँ, यस्तो धेरै काम हामीले भदौ १० गतेपछि प्रभावित क्षेत्रमा गरेका छौँ ।”
उहाँले प्रभावित क्षेत्रमा भएका कामको पर्याप्त प्रचारप्रसार गर्न नसकिएको पनि बताउनुभयो । कामभन्दा प्रचारमा बढी ध्यान दिने प्रवृत्तिका कारण सामाजिक सञ्जाल र सञ्चारमाध्यमसँग बढी सम्बन्ध राख्नेहरूको चर्चा धेरै हुने गरेको उहाँको भनाइ थियो । “जसले काम गर्दैन, जसले मिडियासँग बढी सम्बन्ध राख्छ, सामाजिक सञ्जाल बढी चलाउँछ, उनीहरूकै बढी प्रचार छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।
“अस्ति महाविपत्ति आउँदा पुराना दलका नेता–कार्यकर्ताहरू फिल्डमा खट्यौँ, हामी भूगोलमा खट्यौँ, नयाँ भनाउँदाहरू सबै गुगलमा रमाए, हाम्रा युवा संघ, युथ भोलेन्टियर, जिफन्टलगायत भ्रातृ संगठन र पार्टीका नेताहरू बाढीपहिरोमा पुरिएका भग्नावशेष र लासहरू संकलन गर्न लागे, भला वाइसीएल पनि लाग्यो, अन्य राजनीतिक दलहरू पनि लागे,” उहाँले भन्नुभयो ।
रसुवाको भोटेकोशीमा बाढी आएपछि मुख्यमन्त्री थापा मगर बाढी गएको दिनदेखि नै क्याविनेट मन्त्री र प्राविधिक टाेलीका साथ प्रभावितस्थलमा पुगेर राहत, उद्धार तथा व्यवस्थापनका काममा जुट्नुभएको थियो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो भने सडक तथा पुलहरू क्षतिग्रस्त हुँदा आवागमन र बाह्य क्षेत्रसँगको सम्पर्कसमेत प्रभावित भएको थियो ।
रसुवा र नुवाकोट पुग्ने वैकल्पिक मार्ग निर्माणको काममा सक्रिय रहनुभएका मुख्यमन्त्री थापा मगर प्रभावित क्षेत्रमा आवागमन सहज भएपछि मात्रै काठमाडौं फर्कनुभएको थियो । त्यसपछि पनि उहाँले प्रभावित क्षेत्रमा पुगेर बिरामीको उपचार, विस्थापित परिवारको खानपान तथा अस्थायी बसोबास, अस्पतालहरूको व्यवस्थापन र तत्काल आवागमनका लागि तुइन तथा झोलुङ्गे पुल मर्मतका काममा प्राविधिक टोलीसँगै सक्रियता देखाउनुभएको थियो ।
बाढी प्रभावित क्षेत्रमा नेकपा एमालेका भ्रातृ संगठनहरू अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, जिफन्ट, अखिल नेपाल महिला संघलगायत संगठन पनि उद्धार, राहत र पुनःस्थापनाका काममा खटिएका थिए । ती संगठनका नेता तथा कार्यकर्ताले प्रभावितहरूको उद्धार गर्नुका साथै बाढीपहिरोमा पुरिएका संरचनाका भग्नावशेष हटाउने र प्रभावित क्षेत्रको व्यवस्थापनमा सहयोग गरेका थिए ।
जिफन्टले बाढीबाट प्रभावित केही परिवारका लागि अस्थायी आवास निर्माण गरी हस्तान्तरणसमेत गरेको थियो । त्यस्तै, नेकपाको युवा संगठन वाइसीएलका कार्यकर्ता पनि उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिएका थिए ।
बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ संगठनले आ–आफ्नो तर्फबाट सहयोग गरेका भए पनि विपतका बेला राजनीतिक दलहरूको वास्तविक सक्रियता सामाजिक सञ्जालको प्रचारभन्दा प्रभावित क्षेत्रमा पुगेर गरिने कामबाट देखिने मुख्यमन्त्री थापा मगरको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्