जनता टाइम्स

२ कार्तिक २०८३, सोमबार ०९:००

सुनकोसीमा सुमो खस्दा बेपत्ता भएकाको पनि पहिचान खुल्यो


काठमाडौं, कात्तिक २ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा मृत्यु भएका तीन जना र बेपत्ता तीनै जनाको पहिचान खुलेको छ ।

काठमाडौंबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना बेपत्ता र चार जना घाइते भएका थिए ।

मृत्यु हुने खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्माकाे हिजै परिचय खुलेकाे थियाे ।

दुर्घटनामा बेपत्ता हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई रहेकाे खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको हो ।

 दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीका १३ वर्षीय अंकित विश्वकर्मा र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय चालक आशिष विश्वकर्मा घाइते भएका छन् ।

प्रहरीका अनुसार सुमोमा चालकसहित १० जना सवार थिए । उक्त सुमो काठमाडौंबाट शनिबार राति करिब ११ बजे खोटाङका लागि हिँडेको थियो । प्रहरीले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

दुर्घटनामा मृत्यु भएका र बेपत्ता भएका सबैको पहिचान खुले पनि बेपत्ता तीन जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुकाे गाेताखाेर टाेलीले सुनकाेशीमा खाेजी गरिरहेकाे छ ।