जनता टाइम्स

१ कार्तिक २०८३, आइतबार १४:०४

शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध


उदयपुर, कात्तिक १ । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि स्थानीयवासीले प्रदर्शन गर्दै मदन भण्डारी राजमार्ग अवरुद्ध गरेका छन्।

आइतबार बिहानैदेखि कटारीको बुद्धचोकमा सडक अवरुद्ध गर्दै प्रदर्शनकारीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दुर्घटनामा संलग्न चालकलाई कानुनी कारबाही गर्न माग गरेका छन्। सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वतर्फ जाने यात्रुहरू प्रभावित भएका छन्।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायसले को १ प ९६६२ नम्बरको मोटरसाइकललाई कटारी नगरपालिका–५ भोर्लेमा ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक तथा स्थानीय भुल्के स्कुलका शिक्षक श्रेष्ठ घाइते भएका थिए।

उहाँलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक उपेन्द्र खरेलका अनुसार हायस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

शिक्षकको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि राजमार्गमा यातायात आवागमन प्रभावित भएको छ।