काठमाडौं, कात्तिक १ । बडादसैं तथा नवरात्रको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदैछ। यस अवसरमा दसैंघर तथा पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विशेष पूजा गरिन्छ। पौराणिक मान्यताअनुसार महागौरीलाई गोरो वर्ण, श्वेत वस्त्र धारण गरेकी र सेतो वृषभमा सवार देवीका रूपमा वर्णन गरिएको छ।
पौराणिक ग्रन्थहरूमा कठोर तपस्यापछि देवीले गोरो वर्ण प्राप्त गरेको र त्यसपछि महागौरी नाम रहेको उल्लेख छ।
गत असोज २५ गते घटस्थापनासँगै जमरा राखेर सुरु भएको नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिएको थियो। आज महागौरी र भोलि नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिनेछ।
नवरात्रभर दसैंघर तथा शक्तिपीठहरूमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने परम्परा छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
दसैंको सार्वजनिक बिदा सुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि पूजाअर्चना र दर्शनका लागि भक्तजनको भीड लागेको छ।
नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दसैं पर्व मनाउने परम्परा छ।














प्रतिक्रिया दिनुहोस्