जनता टाइम्स

१ कार्तिक २०८३, आइतबार ०८:०४

रामेछापको भुजी पहिरो स्थानीयको लागि अभिशाप बन्दै, एक सय घरपरिवार विस्थापित


रामेछाप, कात्तिक १ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीस्थित रामजीथान पहिरो स्थानीयवासीका लागि दीर्घकालीन समस्या बन्दै गएको छ। विसं २०७२ को भूकम्पपछि सुरु भएको पहिरोले विकराल रूप लिँदै जाँदा सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ भने करिब एक सय घरपरिवार विस्थापित भएका छन्।

पहिरो निरन्तर झरिरहने भएकाले विशेषगरी वर्षायाममा स्थानीयवासीलाई आवतजावत गर्न कठिन हुने गरेको छ। स्थानीय शिक्षक पशुपति घिमिरेका अनुसार पहिरोका कारण विद्यालय जाने विद्यार्थी तथा उपचारका लागि स्वास्थ्य चौकी पुग्नुपर्ने बिरामीले समेत सास्ती खेप्नुपरेको छ।

पहिरोका कारण भूजीका ठिन्केपु, पिपलडाँडा, सारिटोल र कोकर्सीका करिब एक सय घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवार भूजीको कोलडाँडामुनि बसोबास गर्न थालेका छन्।

पहिरोको जोखिमका कारण पिपलडाँडाका वडाध्यक्ष रुद्रमणि नेवारसहित २५ घरपरिवार अन्यत्र बसाइँ सरेका छन्। पहिरोले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याउनुका साथै स्थानीयवासीको दैनिक जीवनसमेत प्रभावित बनाएको छ।

पहिरोका कारण रुना, ठिन्केपु, पिपलडाँडा र फास्तुबाट वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकीसम्म पुग्नसमेत कठिन भएको छ। स्थानीयवासीलाई आवतजावतमा सहजता प्रदान गर्न पहिरोकाे मुनि मुहान खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ। पुल निर्माणपछि केही राहत मिलेको भए पनि त्यहाँ पुग्न आधा घण्टाभन्दा बढी घुम्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ।

वडाध्यक्ष नेवारका अनुसार रामजीथान पहिरो रामेछाप जिल्लाकै दोस्रो ठूलो पहिरो हो। पहिरोका कारण स्थानीयवासी आधारभूत सेवासमेत सहज रूपमा प्राप्त गर्नबाट वञ्चित भएको उहाँले बताउनुभयो।

पहिरोको छेउमा अहिले पनि बस्ती रहेकाले माथिबाट झर्ने ढुङ्गा र लेदो बस्तीमा पस्ने जोखिम कायमै छ। यसले स्थानीयवासीको जनधनको सुरक्षामा थप चुनौती सिर्जना गरेको छ।

पहिरो नियन्त्रणका लागि वडा र गाउँपालिकाबाट भएका प्रयास पर्याप्त नभएको उल्लेख गर्दै वडाध्यक्ष नेवारले दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गर्नुभएको छ।

वर्षौंदेखि पहिरोको जोखिम झेल्दै आएका स्थानीयवासीलाई सुरक्षित आवास, सहज आवागमन र आधारभूत सेवा उपलब्ध गराउन सम्बन्धित निकायबाट प्रभावकारी पहल आवश्यक देखिएको छ।