जनता टाइम्स

१ कार्तिक २०८३, आइतबार १४:१८

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ


काठमाडौं, कात्तिक १ । नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।

आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत दसैंका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो।

काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक विजेता घोषणा गर्नुभएको थियो। विजेता घोषणा भएपछि उहाँहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी दिनुभएको थियो।

सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि आफूले उपहार जितेको विश्वास गरेकी थिइन्।

विभागका अनुसार बम्पर उपहारबाहेक असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिन एक जनाका दरले १६ जना दैनिक विजेता छनोट भएका छन्। उनीहरूले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। दैनिक उपहारको घोषित राशि एक लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार असोज १६ देखि ३१ गतेसम्म दुई लाख ७५ हजार ८८४ कारोबारका बिल प्रविष्ट गरेर कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका तीन करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल तीन करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।

बम्पर तथा दैनिक उपहारका सबै विजेताले कात्तिक १५ गतेभित्र सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ।