जनता टाइम्स

२ कार्तिक २०८३, सोमबार ०६:५३

बडादसैँ : आज पनि महाअष्टमीकै पूजा र कर्म दोहोर्‍याइँदै


काठमाडौं, कात्तिक २ । यस वर्ष तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले बडादसैँको नवौँ दिन आज पनि महाअष्टमीकै विधिअनुसार पूजा आराधना गरिँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेकाले आज पनि पूजा कोठा तथा दसैँ घरमा अष्टमीकै विधिअनुसार पूजा गर्नुपर्ने भएको हो।

समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार पात्रोमा दुई दिन अष्टमी उल्लेख भएकाले हिजो गरिएको महाअष्टमीको कर्म आज पनि निरन्तर गर्नुपर्छ। आज नवदुर्गामध्ये आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्ने उहाँले बताउनुभयो।

तिथि वृद्धि हुँदा यस वर्षको नवरात्र १० दिनको बनेको छ। धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना र आराधनामा एक दिन थपिँदैमा धार्मिक विधिमा फरक पर्दैन।

यसैबीच, हनुमानढोका दरबारमा भने आज सोमबार राति विशेष कालरात्रि पूजा गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महाअष्टमीको भोलिपल्ट महानवमीको कर्म गर्ने पुरानो परम्पराअनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँगको परामर्श र तलेजुका पुजारीको निर्णयपछि आज राति पूजा गर्न लागिएको हो।

हनुमानढाँका दरबारस्थित दसैँ घरमा आइतबार महाअष्टमीको सामान्य पूजा सम्पन्न भइसकेको छ। आज भने मूल पूजा आयोजना गरिनेछ।

महाअष्टमीको राति तलेजु भवानीसमक्ष १०८ राँगा तथा बोकाको बलिसहित विशेष कालरात्रि पूजा, आराधना र तान्त्रिक अनुष्ठान गर्ने परम्परा छ।