काठमाडौं, कात्तिक ८ । नेपालीले भव्य रूपमा मनाउने बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दुर्गा पक्ष कोजाग्रत पूर्णिमामा समापन हुने गर्छ । यस दिन घटस्थापनामा राखिएका जमरा विसर्जन गर्नुका साथै माता दुर्गाका तीन प्रमुख रूपमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदाइ गरिन्छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने व्यक्तिको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ ।
नवरात्र विजयादशमीकै दिन सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ । यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप दसैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ । बिहानै दसैँघरका फूलप्रसाद र जमराका अवशेष नजिकको नदी, तलाउ, पोखरीलगायत तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ ।
भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने चलन सुरु हुन्छ । यसलाई दसैँको बिदाइसँगै तिहारको तयारी सुरु हुने समयका रूपमा समेत लिइन्छ ।














प्रतिक्रिया दिनुहोस्