जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार ०७:१५

बुधबारदेखि बाली भित्र्याउन र लामो दूरीको यात्रा नगर्न मौसमविद्को सुझाव


काठमाडौं, कात्तिक ८ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेपछि मौसमविद्हरूले बुधबारदेखि पाकेको धानबाली भित्र्याउन र लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन् ।

यस प्रणालीको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म पाँच दिन देशका विभिन्न स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरूले सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै पाकेको धानबाली सुरक्षित रूपमा भित्र्याएर भण्डारण गर्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र पहाडी राजमार्गमा लामो दूरीको यात्रा सकेसम्म टार्न आग्रह गरेका छन् ।

मौसमविद् उज्ज्वल उपाध्यायले सामाजिक सञ्जालमार्फत प्रणालीको अवस्था र नेपालमा पर्न सक्ने प्रभावबारे थप स्पष्ट जानकारी आइतबार दिउँसोसम्म आउने बताउनुभएको छ ।

मौसम प्रतिकूल हुन सक्ने भएकाले उच्च हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा गर्दा विशेष सावधानी अपनाउन पनि मौसमविद्हरूले सुझाव दिएका छन् । विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा बुधबारदेखि आइतबारसम्म यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित हुन सक्ने जनाएको छ । विभागका आधिकारिक मौसमी बुलेटिन तथा सूचनालाई नियमित रूपमा हेर्न र सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ ।