जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १७:१४

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, नवदुर्गा जात्राका लागि बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग


भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गर्नुभएको छ।

उक्त कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कला, संस्कृति, सम्पदा र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई हर्षित तुल्याएको मुख्यमन्त्री थापाले बताउनुभयो।

कार्यक्रमका अवसरमा श्री नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो। वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरमार्फत श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो।

उक्त सहयोग रकमको चेक राष्ट्रपति पौडेल र मुख्यमन्त्री थापाले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो।

मुख्यमन्त्री थापाले नेपालका अमूल्य धर्म, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न वाग्मती प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताउनुभयो।

उहाँले मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक सहयोग तथा सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।