काठमाडौं, कात्तिक ८ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो पटक डीआरएस प्रविधि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आधिकारिक मान्यता र विदेशी स्टार खेलाडीको सहभागितालगायत नयाँ विशेषता थपिएका छन्।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।
पहिलो पटक डीआरएस प्रविधि
यस संस्करणमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिँदैछ। अम्पायरको निर्णयमा चित्त नबुझे खेलाडीले पुनरावलोकन माग गर्न सक्नेछन्। भिडियो र अन्य प्रविधिको सहायताले तेस्रो अम्पायरले निर्णय जाँच गर्ने व्यवस्था गरिएको छ।
डीआरएसबाट बलको दिशा, स्टम्पिङ, रनआउट, नो बल र वाइडसम्बन्धी निर्णय जाँच गर्न सकिनेछ। ब्याट र बलबीच सम्पर्क भए–नभएको पत्ता लगाउन एज डिटेक्सन र साउन्ड वेभ प्रविधि प्रयोग गरिनेछ। प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउने व्यवस्था छ। यो प्रणालीका कारण खेलमा थप समय लाग्न सक्ने भएकाले खेल तालिकामा पनि त्यसअनुसार समय व्यवस्थापन गरिएको छ।
आईसीसीको आधिकारिक मान्यता
एनपीएलका सबै खेललाई आईसीसीले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता दिएको छ। यससँगै प्रतियोगितामा खेलाडीले बनाएका रन र लिएका विकेट उनीहरूको आधिकारिक टी–२० करियरको तथ्यांकमा जोडिनेछन्।
आईसीसीको मान्यताले नेपाली क्रिकेटको व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान बढाउनुका साथै विदेशी खेलाडी अनुबन्ध गर्न पनि सहज हुने अपेक्षा गरिएको छ।
विदेशी खेलाडीका लागि नयाँ व्यवस्था
यस संस्करणमा प्रत्येक फ्रेन्चाइज टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन्। तर प्लेइङ–११ मा बढीमा चार जना विदेशी खेलाडी मात्र समावेश गर्न पाइनेछ। तीमध्ये कम्तीमा एक जना एसोसिएट सदस्य राष्ट्रका खेलाडी हुनुपर्ने व्यवस्था गरिएको छ।
दर्शकका लागि थप सुविधा
नेपाल क्रिकेट संघ (क्यान)ले अघिल्ला संस्करणमा देखिएका समस्या सुधार गर्न मैदानको पूर्वाधार र दर्शक सुविधामा सुधार गरेको जनाएको छ। यसपटक करिब दुई हजार सिट थप गरिएको छ भने दर्शकका लागि छाना भएको प्यारापिटको व्यवस्था गरिएको छ।
अघिल्लो संस्करणमा शौचालयको अपर्याप्त सुविधा र मैदानमा आवतजावत गर्दा धूलोको समस्या भएको गुनासो आएको थियो। ती समस्या कम गर्न व्यवस्थापनमा सुधार गरिएको क्यानले जनाएको छ।
पिच र सञ्चार सुविधामा सुधार
कीर्तिपुर मैदानको पिचमा नयाँ माटो प्रयोग गरी परिमार्जन गरिएको छ। मैदानको आउटफिल्डलाई थप हरियो र स्तरीय बनाइएको क्यानले जनाएको छ।
खेलाडीका लागि निजी भोजन सुविधासहितको डगआउट निर्माण गरिएको छ भने सञ्चारकर्मीका लागि मिडिया सेन्टर व्यवस्थित बनाइएको छ। मैदानमा डिजिटल प्रदर्शनका लागि एलईडी स्कोरबोर्डको सुविधा पनि थपिएको छ।
आठ टोलीबीच प्रतिस्पर्धा
तेस्रो संस्करणमा आठ टोली सहभागी छन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।














प्रतिक्रिया दिनुहोस्