जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १९:३६

अपहरणमा परेका सैनिकको उद्धार गर्न एल साल्भाडोरले हाइटीमा विशेष फौज पठायो


काठमाडौं, कात्तिक ८ । सशस्त्र समूहले अपहरण गरेका आफ्ना चार जना सैन्य उड्डयन प्राविधिकको उद्धारका लागि मध्य अमेरिकी देश एल साल्भाडोरले हाइटीमा विशेष फौज पठाएको छ।

‘साउदी ग्याजेट’का अनुसार राष्ट्रपति नायिब बुकेलेले सम्भावित जोखिमपूर्ण भिडन्तको चेतावनीका बाबजुद उद्धार अभियानमा सफलता हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुरक्षा स्रोतलाई उद्धृत गर्दै आएका सञ्चारमाध्यमका रिपोर्टअनुसार करिब २०० साल्भाडोरका सैनिक हाइटीको राजधानी पोर्ट–अ–प्रिन्स पुगेका छन्।

संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त ग्याङ सप्रेसन फोर्स (जीएसएफ)ले पोर्ट–अ–प्रिन्सबाहिरको प्लेन डु कुल–दे–साक क्षेत्रमा जारी खोजी तथा सुरक्षा कारबाहीमा सहयोग गर्न एल साल्भाडोरको सैनिक टोली पुगेको जनाएको छ।

जीएसएफका अनुसार साल्भाडोरका सैनिकले हाइटीको राष्ट्रिय प्रहरी र अन्य सुरक्षा साझेदारसँग मिलेर काम गरिरहेका छन्। सुरक्षा कारबाही जारी रहेका क्षेत्रबाट टाढा रहन सान्तो र आसपासका समुदायका बासिन्दालाई पनि आग्रह गरिएको छ।

राजधानीनजिकै क्रोइक्स–डेस–बुकेट्स कम्युनअन्तर्गतको सान्तो क्षेत्रमा सशस्त्र व्यक्तिहरूले बख्तरबन्द गाडीमा आक्रमण गरेपछि एल साल्भाडोरका चार सैन्य उड्डयन प्राविधिक बेपत्ता भएका थिए। आक्रमणका क्रममा उनीहरू जलिरहेको गाडीबाट बाहिर निस्कन सफल भए पनि त्यसयता उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन।