जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १९:४५

फ्रान्समा प्रदर्शनका क्रममा एक हजार ३१४ जना पक्राउ


काठमाडौं, कात्तिक ८ । फ्रान्सभरि शुक्रबार र शनिबार भएका प्रदर्शनका क्रममा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको छ। फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार प्रदर्शनका क्रममा भएका झडपमा ५३ जना प्रहरी घाइते भएका छन्।

जीवनयापनको बढ्दो लागतविरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शनिबार ठूलो सङ्ख्यामा प्रदर्शनकारी पक्राउ परेका हुन्। सप्ताहन्तमा फ्रान्समा लगातार दोस्रो पटक अशान्ति भएको हो।

आन्तरिक मन्त्रालयका अनुसार शनिबारका प्रदर्शनका क्रममा प्रहरीले ७५ वटा आगजनीका घटना नियन्त्रणमा लिएको थियो भने २४ वटा पसल लुटिएका थिए। घटनाबारे केही अनुसन्धान सुरु गरिएको मन्त्रालयले जनाएको छ। यद्यपि, अनुसन्धानको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

झडपपछि शनिबार राति सहरहरू शान्त रहेको बताइए पनि प्रदर्शनकारीहरूले थप कार्यक्रम गर्ने घोषणा गरेका छन्।

आगामी अप्रिल र मेमा फ्रान्समा राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति इमानुएल म्याक्रोँका दुई कार्यकाल पूरा भएपछि हुन लागेको निर्वाचनले उनको उत्तराधिकारी चयन गर्नेछ। निर्वाचनको समयमा बढेको अशान्तिले राजनीतिक वातावरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।

प्रदर्शनकारी पनि घाइते

आन्तरिक मन्त्री लोराँ न्युनेजले शनिबार राति टुलुज र क्लर्मोन्ट–फेरान्डमा गरी दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएको बताएका थिए। मन्त्रालयको आइतबारको विज्ञप्तिमा प्रदर्शनकारी घाइते भएको सङ्ख्या भने उल्लेख छैन।

टुलुज प्रिफेक्चर प्रशासनले एएफपीलाई बताएअनुसार २० वर्षीय एक युवकको हातमा गम्भीर चोट लागेको छ। प्रदर्शनकारीको उपचारमा संलग्न एक सडक चिकित्सकले नाम नखुलाउने सर्तमा युवकको दाहिने हातका केही औँला गोली लागेर गुमेको बताएका छन्।

क्लर्मोन्ट–फेरान्डको प्रिफेक्चरले पनि त्यहाँ एक जनाको हातमा चोट लागेको जनाएको छ। तर, ती व्यक्तिको कुनै औँला गुमेको विवरण सार्वजनिक गरिएको छैन।

फ्रान्सको क्षेत्रीय दैनिक ला नोभेल रिपब्लिक ले पोइतियर्समा एक जनाको बायाँ आँखामा चोट लागेको समाचार प्रकाशित गरेको छ। पत्रिकाले अनुहार हातले छोपिरहेका एक व्यक्तिको तस्बिरसमेत सार्वजनिक गरेको छ।