काठमाडौं, कात्तिक ७ । भारतको बिहारस्थित सिवान जिल्लामा घरमा पटाका बनाउने क्रममा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको छ ।
सिवानका प्रहरी उपरीक्षक भरत सोनीका अनुसार मेडिकल टोलीको मूल्यांकनपछि सिभिल सर्जनले पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन् ।
घटना हुँदा घरमा सातदेखि आठ जना उपस्थित रहेको बताइएको छ । तीमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुईदेखि तीन जना घरबाहिर रहेको जनाइएको छ ।
घटनास्थलमा फरेन्सिक साइन्स ल्याबको टोली पुगेको छ । आगो पूर्ण रूपमा निभाइसकिएको र बम पत्ता लगाउने तथा निष्क्रिय पार्ने टोली पनि घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक सोनीले जानकारी दिएका छन् ।
घटनामा लापरवाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय चौकीदार चन्द्रिका माझीलाई निलम्बन गरिएको छ । प्रहरीले घटनाबारे प्राथमिकी (एफआईआर) दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।
बीबीसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्