जनता टाइम्स

५ कार्तिक २०८३, बिहिबार १६:३६

इतिहासलाई स्मरण गरेर मात्रै भविष्यको सिर्जना गर्न सकिन्छ : सी चिनफिङ


काठमाडौं, कात्तिक ५ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले इतिहासलाई स्मरण गरेर मात्रै भविष्यको सिर्जना गर्न सकिने बताउनुभएको छ ।

चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बेइजिङमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले यस्तो बताउनुभएको हो । सम्बोधनका क्रममा उहाँले सम्पूर्ण पार्टी, सेना र देशका विभिन्न जातीय समुदायका जनतालाई पार्टीको केन्द्रीय समितिको नेतृत्वमा एकताबद्ध भएर ‘लङ मार्च’को भावनालाई अघि बढाउन आह्वान गर्नुभयो ।

“सम्पूर्ण पार्टी, सम्पूर्ण सेना र सम्पूर्ण देशका विभिन्न जातीय जनताले पार्टीको केन्द्रीय समितिको वरिपरि अझ नजिक भएर एकताबद्ध हुँदै महान् लङ मार्चको भावना प्रकट गर्नुपर्छ, निरन्तर प्रयास गर्दै अघि बढ्नुपर्छ, क्रान्तिकारी अग्रजहरूले सुरु गर्नुभएको महान् कार्यलाई निरन्तरता दिनुपर्छ र नयाँ लङ मार्चमा नयाँ चमक सिर्जना गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

उक्त समारोहमा सीपीसी केन्द्रीय समितिको पोलिटब्युरो स्थायी समितिका सदस्यहरू ली छ्याङ, चाओ लेजी, वाङ हुनिङ, छाई छी, डिङ सुएसियाङ र ली सीका साथै चीनका उपराष्ट्रपति हान झेङ पनि सहभागी हुनुभएको थियो ।

यसै अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा लाल सेनाले गरेको ‘लङ मार्च’को विजयको ९०औँ वार्षिकोत्सवलाई लक्षित गरी चाइना मिडिया ग्रुपले बिहीबार बेइजिङ समयअनुसार राति ८ बजे विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्ने कार्यक्रम रहेको छ । ‘लङ मार्चको महान् भावनालाई अघि बढाउँदै नयाँ युगको लङ मार्चमा अघि बढ्ने’ मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा लाल सेनाले गरेको कठिन तथा गौरवशाली यात्राको स्मरण गरिनेछ ।